काठमाडौं। त्रिभुवन विश्व विद्यालयले यहि चैत ५ गते आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ। निर्वाचनका लागि शुक्रबारदेखि मौन अवधि समेत सुरु भएको हो।
मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल समेत लैजानका लागि निषेध गरिएको छ। निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो। करिब १४ वर्षपछि त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो।
अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने भएका छन्। २ सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, २ सय १ देखि १ हजारसम्म विद्यार्थी भएमा १३ जनाको कार्यसमिति, १ हजार १ देखि ३ हजारसम्म विद्यार्थी भएमा १९ जनाको कार्यसमिति र ३ हजार १ देखि ५ हजारसम्म विद्यार्थी भएमा २१ सदस्यीय कार्यसमिति हुने भएको छ।
केही क्याम्पसमा निर्वाचन अघि नै स्ववियु गठन भएको छ। क्याम्पसमा रहेका विद्यार्थी संगठनहरुबीचको सहमतिमा सभापतिदेखि सदस्यसम्मका पदमा भागबन्डा गरी निर्विरोध नेतृत्व चयन गरिएको छ। केही क्याम्पसमा विवादका कारण निर्वाचनको प्रक्रिया अघि बढ्न सकेको छैन। त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिनको प्रयोग हुने भएको छ।

