काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका आंगिक र सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आइतबार(आज)को मतदान प्रक्रिया सकिएको छ । मतदान सकिएका क्याम्पसहरूले साँझबाटै मतगणना प्रक्रिया सुरु गर्ने जनाएका छन् ।
निर्वाचन केन्द्रीय समितिले बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकेको थियो । ढिला सुरु भएका र बीचमा अवरुद्ध भएका केही क्याम्पसले ४ बजेपछि पनि मतदान जारी राखेका थिए । समितिका सदस्य सचिव पशुपति अधिकारीले देशभरका क्याम्पसमा शान्तिपूर्ण निर्वाचन भएको जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकाका २२ मध्ये ७ क्याम्पसमा आज निर्वाचन हुन सकेन । त्यस्तै पोखराका ४ र चितवनका ३ क्याम्पसमा पनि आन्तरिक विवादका कारण निर्वाचन प्रक्रिया अवरुद्ध छ । ती बाहेक अन्य क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले निकै उत्साहजनक रूपमा मतदान सम्पन्न भएको बताए । कहीँ कतै कुनै अप्रिय घटना नभईकन निर्वाचन सम्पन्न भएको उनको भनाई छ । केही स्थानहरूमा निर्वाचन प्रक्रिया रोकिएको तर, केही दिनभित्रमा सम्पन्न हुने उनको भनाई छ । स्ववियु इतिहासमा पहिलो पटक शान्तिपूर्ण वातावरण स्ववियु निर्वाचन सम्पन्न भएको निर्देशक अधिकारीले बताए । कम मत खसेपनि कुनै पनि अप्रिय घटना नभएको उनको भनाई छ ।
काठमाडौँ उपत्यकाका केही क्याम्पसहरूमा भने अनपेक्षित मतदान भएको छ । शंकरदेव क्याम्पसमा ३५ प्रतिशत मात्रै मत खसेको छ । त्यस्तै थापाथली, नेपाल ल क्याम्पस, पुलचोक इन्जिनियरिङ क्याम्पस लगायतका उपत्यकाका नाम चलेका क्याम्पसमा भने अनपेक्षित रूपमा मत खसेको छ । ती क्याम्पसहरूमा निकै कम मत खसेको हो ।
आंगिक बाहेक धेरै जसो सम्बन्धन प्राप्त क्याम्पसहरूमा समेत निर्वाचन सम्पन्न भएको छ ।
कतिपय स्थानको मत परिणाम समेत सार्वजनिक भइसकेको छ । मतदान सम्पन्न भएका क्याम्पसहरूमा सर्वदलीय बैठक बसेर मत गणनाको कार्य थालनी गरिनेछ । त्रिविका विभिन्न ४ वटा क्याम्पसहरूमा भने विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएको छ ।
त्रिवि केन्द्रीय क्याम्पस, थापाथली र पुलचोक इन्जिनियरिङ क्याम्पस र धरानको केन्द्रीय प्रविधि क्याम्पसमा विद्युतीय मेसिन मार्फत मतदान भएको हो । ती क्याम्पसहरूमा केही समयमा नै निर्वाचन मत परिणाम सार्वजनिक गरिनेछ । ती बाहेकका क्याम्पसहरूमा मध्यरातसम्ममा निर्वाचन मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेका छन् ।
त्रिविका १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसअनुसार कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएका छन् । त्यस्तै बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन भएका हुन् । देशभरका अढाई सय क्याम्पसहरूमा स्ववियु निर्वाचन भएका छन् ।

