काठमाडौं। नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल विजयी भएका छन्। सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू) ले संयुक्त उम्मेदवार ढुंगेलले एमाले निकट अनेरास्ववियुबाट कैलाश तामाङलाई पराजित गरेका हुन्।
ढुंगेलले ५९१ मत प्राप्त गर्दा तामाङलाई ५३९ मत खसेको छ। यस्तै सचिवमा नेविसंघका मनोज सिंह (६०१) र कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङ (४२३) विजयी भएका छन्। ७ सदस्यमध्ये ५ सदस्य अनेरास्ववियुले जितेको छ।
अनेरास्ववियुका समिर रिजाल, प्रियंका साउँद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल र आशुतोष कुमार गुप्ता सदस्यमा विजयी भएका छन्। गठबन्धनको तर्फबाट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल भएको थियो।

