काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रंगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ-आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन्। आज ५८ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय छुवाछूत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताए।
‘कानूनरुपमा वर्जित भएपनि छुवाछूत जस्तो अमानवीय प्रथा पूर्णरुपमा अन्त्य हुन सकेको छैन। यसलाई तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउनु आवश्यक रहेको छ,’ उनीद्वारा जारी सन्देशमा भनिएको छ। उनले पार्टीले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रुपमा आत्मसात् गरेको समेत बताएका छन्।
अध्यक्ष ओलीले एमाले जात, जाति, वर्ग, वर्ण, लिङ्ग, धर्म, संस्कृतिलगायतका आधारमा गरिने विभेद र शोषणको विरुद्ध लड्दै आएको पार्टी रहेको उल्लेख गर्दै एमालेको सरकारले छुवाछूतबाट पीडित र प्रताडितको आर्थिक सवलिकरण र सामाजिक मर्यादाका लागि नीतिगत सुधारमा नेतृत्वदायी भूमिका खेलेको बताए।

