सरकारले चाँडै पूर्णता पाउछ : प्रधानमन्त्री प्रचण्ड

गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताएका छन्। गोरखाको हर्मीमा पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उनले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन छलफल सुरु भइसकेको बताए।

प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन नेपाली काँग्रेसलगायत अन्य दलसँग छलफल भइरहेको जानकारी दिए। ‘हिजोदेखि फेरि एउटा राजनीतिक वातावरण बनेको छ, लय पक्रिएको छ,’ उनले भने, ‘सदनमा रहेका झन्डै ११ पार्टीको विश्वासको मतसहित अब छिट्टै हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं।’

उनले प्रदेशका सरकार पनि तत्काल पुनः गठन हुने बताए। ‘सबै प्रदेशमा आलोपालो प्रणालीबाट सरकारको नेतृत्व गर्ने गरी सबै प्रदेश सरकारलाई पूर्णता दिने तयारीमा छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जनताका विकास, निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न एकीकृतरुपमा काम अगाडि बढाउने योजनासहित तीन वटै तहका सरकारबीच बृहत् बैठकको आयोजनासमेत गर्न लागिएको छ।’

उनले तिनै तहको सरकारमार्फत देशभरिका विकास निर्माणका कामलाई गति दिने बताए। प्रधानमन्त्री प्रचण्डले नेपालको विकासको मोडालिटीमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेकोसमेत औँल्याए। सडकको विकासले मात्र समृद्धि हुन नसक्ने भन्दै उनले कृषि, शिक्षा, रोजगारीसँग जोडेर सडक निर्माण गर्न सकेमात्र विकासले फड्को मार्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर