काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो टुंगोमा पुर्याउनुपर्ने बताएका छन्। शान्ति प्रक्रियाको बाँकी कामलाई यो वा त्यो बहानामा लम्बाउँदा भविष्यमा थप जटिलता निम्त्याउने उनको भनाइ छ।
मंगलबार काठमाडौंमा आयोजित एक विचार गोष्ठीमा महामन्त्री थापाले तत्कालको नाफा/घाटाभन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्याउन सबै राजनीतिक दलहरूलाई आग्रह समेत गरे। ‘हामीले दलीय संकीर्णता र तत्कालको नाफा घाटा भन्दा बाहिर निस्किएर संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ,’ उनले भने, ‘द्वन्द्वबाट पीडितहरूको भावनालाई सम्मान गर्न सकेनौं र उनीहरूले स्वीकार गरेनन् भने पनि हामी अप्ठ्यारोमै पर्छौं। हामीले यसमा ध्यान दिनुपर्छ।’
शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पुर्याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरीत जान नहुने उनको भनाइ थियो। उनले राजनीतिक दलहरूलाई शान्ति प्रक्रियाको कामलाई टुंगोमा पुर्याउने कामबाट भाग्ने छुट नभएको पनि बताए। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कामको नेतृत्व नेपाली काँग्रेसले नै लिनुपर्ने पनि थापाको भनाइ छ।

