बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज बुधबार विश्वासको मत लिने भएका छन्।बुधबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक संसदबाट विश्वासको मत लिन लागेका हुन्।

पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो। राप्रपा बाहिरिएपनि अहिलेसम्म नेकपा (एमाले) भने सरकारबाट बाहिरिएको छैन।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए। जसअनुसार एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदसहितको उनले भारी मतसहित विश्वासको मत पाएका थिए। उनको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए।

१ सय १० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ।
प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, नेकपा (एकीकृत समाजवादी) का ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर