दलितमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण चलाइरहनुपर्छ : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रूपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारले पेश गरेको छुवाछूत तथा जातीय विभेदविरुद्धको संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले उठाएको जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले निरन्तर सांस्कृतिक आन्दोलन र अभियान चलाउनुपर्ने बताए।

उनले दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि सरकारको तर्फबाट भएका कानुनको प्रभावकारी कार्यान्वयन र अपुग भएका कानुन निर्माणका लागि प्रतिबद्ध रहेको उल्लेख गरे। प्रधानमन्त्रीले दलित समुदायलाई अधिकार सम्पन्न गराउनका लागि ऐतिहासिक कर्म गर्न दृढ रहेको स्पष्ट पारे। उनले भने, ‘सरकार दलित समुदायको पक्षमा ऐतिहासिक कर्म गर्न दृढ र प्रतिबद्ध छ।’

दलित समुदाय र महिलामाथि भएको विभेद र ज्यादती अन्त्य गर्न कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र र राजनीतिक नेतृत्वको सोचमा समेत परिवर्तन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास तथा समृद्धिको अभियानबाट पनि जातीय विभेद कम गर्न सकिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर