काठमाडौं। गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका दुई जनाले राजीनामा दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार मुख्यमन्त्री खगराज अधिकारी समक्ष राजीनामा बुझाएका हुन्।
शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो। दुई मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकार अल्पमतमा परेको छ। अब अधिकारीलाई कि राजीनामा दिने कि त विश्वासको मत लिने दुई विकल्प रहनेछन्।
माओवादी सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको औपचारिक जानकारी संसद् सचिवालयलाई गराएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुपर्छ। मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था नभए संविधानको धारा १६८ (३) अनुसार काँग्रेस दल नेता सुरेन्द्रराज पाण्डे ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त हुनेछन्।

