गठबन्धन बैठक निष्कर्षविहीन, दिउँसो ३ बजे फेरि बस्ने

काठमाडौं। सत्ता गठबन्धनमा रहेका विभिन्न १० दलका नेताहरूको बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठक निष्कर्षविहीन सकिएको छ।

मंगलबार साँझ भएको लामो छलफल पनि निष्कर्षविहीन भएपछि आज बिहान नेताहरू मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटारमा जम्मा भएका थिए। बिहानको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।

‘लञ्च ब्रेक भयो। हामी फेरि ३ बजे बस्छौं। सहमति भइसकेको छैन,’ उनले भने। मन्त्रिपरिषदबारे आजै टुंगो लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तयारी छ। नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार सरकारमा सहभागी दलहरूको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा साँझ पाँच बजेसम्म दलहरूले आफ्ना विषय थप घट गर्ने गरी निर्धारण गरिएको छ।

‘मस्यौदामा साँझसम्म थपघट गरेपछि मात्रै भोलि फाइनल गर्छौं,’ उनले भने, ‘अहिले बैठकमा मूलतः सरकार गठनको कुरा भयो, फेरि भरे छलफलमा बस्छौं।’ मंगलबारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर