काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा सरेको छ। एकल इजलासमा परेको रिट न्यायाधीश अनिलकुमार सिन्हाले हेर्न नमिल्ने भन्दै स्थगित गरेका हुन्। लामिछानेको मुद्दा नौ नम्बरमा पेसी रहेको थियो।
लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको हो। अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध रिट दायर गरेका थिए। रिटमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ।
महान्यायाधिवक्ता डा. पोखरेलले यही चैत ६ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए। जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको थियो।

