उपनिर्वाचनकाे आचारसंहिता आजदेखि लागू, क–कसलाई लाग्छ?

काठमाडौं। आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रको उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू भएको छ। चितवन २, बारा २ र तनहुँ १ मा शुक्रबारबाट उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा ९२० ले दिएको अधिकार प्रयोग गरी शुक्रबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आयोगका अनुसार उपनिर्वाचन हुने चितवन, बारा र तनहुँमा नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुने छ। आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न गराउन आवश्यक व्यवस्था मिलाउन तीनवटै जिल्लाका जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ।

आचारसंहिता अवधिभर तोकिएका निकाय, अधिकारी तथा व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन, वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृति गर्न वा सञ्चालन गर्न, कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने, कुनै राजनीतिक नियुक्तिको पद सिर्जना गर्न वा त्यस्ता पदमा नियुक्त गर्न नहुने आचारसंहितामा उल्लेख छ। आयोगले बिहीबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्दै उनीहरुलाई निर्वाचन चिन्ह समेत प्रदान गरेको छ। चुनाव चिन्ह प्रदान गरेसँगै उम्मेदवारहरुको घरदैलो लगायतका प्रचार पनि सुरू भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर