काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने संकल्प लिएको बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा उनले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राखेका हुन्।
उनले समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताए।
‘विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने। स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्त्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएकामा उनले खुसी व्यक्त गरे।
‘सरकारले डडेल्धुरामा आंगिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई विश्वविद्यालयको संकायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको छ,’ उनले भने, ‘उक्त क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारको पूर्ण सहयोग रहनेछ।’

