अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको र जिम्मेवारीका साथ लागेको बताएका छन्। आज नेपाल चेम्बर अफ कमर्शको ७२ औँ वार्षिक साधारणसभामा उनले अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रको पनि उत्तिकै साथ र सहयोग चाहेको बताए।

‘देशको अर्थतन्त्र सञ्चालनमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहिआएको छ। कूल लगानीको दुई तिहाइ लगानी निजी क्षेत्रबाट भएको छ। उत्पादन र रोजगारी बढाउन साथै अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्ति गर्नका लागि अग्रगामी भूमिका खेल्दै आएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने। उनले तीन वटै तहका सरकारले पनि आफ्नो योजना तथा नीति तर्जुमा गर्दा निजी क्षेत्रसँग समन्वय गर्दै आएको बताए।

नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने योजना बनाएकोमा ती लक्ष्य पूर्ति गर्नका लागि निजी क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ। त्यस्तै पछिल्ला वर्षमा अर्थतन्त्रसँग जोडिएका विभिन्न क्षेत्रमा उल्लेख प्रगति देखिँदै गएकाले अब लगानीका क्षेत्र पनि प्राथमिकिकरण गरिनुपर्ने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर