काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताएका छन्। बाराको गढीमाईमा आज सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभामा प्रधानमन्त्री प्रचण्डले सो विमानस्थलको कामले अब छिट्टै गति लिने विश्वास दिलाए।
उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौं। म तपाईंहरू सामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ।’
उनले गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने र त्यसका लागि गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्धन गर्ने सरकारको योजना रहेको बताए। विद्युतीय सिँचाइ प्रणालीमार्फत सिँचाइको व्यवस्था गर्ने र उपेन्द्र यादवको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिन प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

