‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ जेठ अन्तिम साता

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपालले आगामी जेठ ३० देखि असार १ गतेसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक सातौँ संस्करणको अन्तर्राष्ट्रिय कार्यक्रम गर्न लागेको छ । राष्ट्रसङ्घको सहयोगमा शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास र नवीनतम प्रविधिको प्रयोग गर्ने उद्देश्यले प्रत्येक वर्ष विभिन्न मुलुककमा यस्तो अन्तर्राष्ट्रिय गोष्ठी हुँदै आएको छ ।

विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुरुप शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती र असल अभ्यासबारे सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान गर्न यस्ता कार्यक्रम निकै प्रभावकारी देखिएका रक्षा मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए । पहिलो पटक शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१४ मा इटालीबाट सुुरु गरिएको थियो । नेपालले विश्वशान्ति स्थापनाका लागि गरेको प्रतिबद्धता र योगदानका आधारमा संयुक्त राष्ट्रसङ्घ मातहतको सूचना एवं सञ्चार र प्रविधि कार्यालयको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको हो ।

गोष्ठीमा संयुक्त राष्ट्रसङ्घको मुख्यालयका साथै शान्ति सेना खटाउने मुलुक र सहयोग संस्थाका प्रतिनिधि तथा विषय विज्ञसमेत गरी करिब तीन सय प्रतिनिधिको सहभागिता रहनेछ । गोष्ठीमा मुख्य नारामा आधारित अतिथि वक्ताको खुला सत्र, प्रस्तुतीकरण र विषयगत कार्य समूहमा छलफल हुनेछ । राष्ट्रसङ्घको आह्वानमा हालसम्म एक लाख ४४ हजार पाँच सय ६५ नेपाली शान्ति सैनिकले विश्वका ४४ शान्ति मिसनमा खटिएर योगदान पु¥याइसकेका छन् । यस क्रममा ७२ जनाले वीरगति प्राप्त गर्नुका साथै ६६ जना गम्भीर घाइते भएका छन् । हाल विश्वका १२ शान्ति मिसनमा पाँच सय छ महिलासहित छ हजार ५७ सैनिक परिचालित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर