काठमाडौं। संघीय संसद्को हिउँदे अधिवेशन हिजो शुक्रबार मध्यरातिदेखि अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेका हुन्।
कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार,मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राति १२ः०० बजेदेखि अन्त्य गरेको छु ।’
राष्ट्रिय सभामा १३ औं अधिवेशन अन्तर्गत यो हिउँदे अधिवेशनमा १९ बैठक बसेको छ भने प्रतिनिधि सभामा २८ बैठक बसेको छ। जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार त्यसअघि बजेट तयारीबारे संसदमा छलफल हुने गर्दछ।

