काठमाडौं। अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई नेपालमा पनि आज (सोमबार) विविध कार्यक्रम गरेर मनाइँदैछ। हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ। यसपटक १३२ औं श्रमिक दिवसका अवसरमा सोमबार विभिन्न मजदुर संगठनले श्रमिक अधिकार र सामाजिक सुरक्षाको लागि विविध कार्यक्रम गर्दैछन् ।
सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरन्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिएको हो। नेपालमा २००७ सालमा विराटनगरको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो।
२०४६ सालको राजनीतिक परिवर्तनसँगै सरकारले यो दिवसका दिन सार्वजनिक बिदा दिन थालेको छ। नेपालमा यो दिवस मनाउन थालेको लामो समय भइसक्दा पनि अनौपचारिक क्षेत्रका श्रमिकहरु भने सामाजिक सुरक्षामा समेटिन भने अझै सकेका छैनन्।

