रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन्। आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो।

यस अघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो। पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने बताए। उनले भने, ‘पार्टी सभापति लामिछाने संसदीय दलको नेता चयन हुनुभएको छ। सरकारसम्बन्धी छलफल चाहिँ शुक्रबारको संयुक्त बैठकबाट टुंगो लाग्ने निर्णय भएको छ।’

केन्द्रीय समितिको आज बसेको बैठकले पार्टीको ३६ विभाग गठन गरेको छ। डा स्वर्णिम वाग्लेले अर्थनीति विभागको प्रमुखको जिम्मेवारी पाएका छन्। शिशिर खनालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र पर्यटन तथा संस्कृति विभागको जिम्मेवारी पाएका छन्।

डा मुकुल ढकालले नीति तथा विचार र प्रशिक्षण, डा तोषिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद, सन्तोष परियार मानव अधिकार, सोविता गौतम कानुन तथा न्याय, हरि ढकाल भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन र दीपक बोहरा जनसम्पर्क विभाग प्रमुख बनेका छन्।

मनिष झा तथ्यांक अनुसन्धान तथा अभिलेखीकरण र सार्वजनिक लेखा समीक्षा, सुमना श्रेष्ठ शिक्षा र विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुख तोकिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर