काठमाडौं। नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। हत्या आरोप लागेका उनलाई मंगलबार निलम्बन गरेको संसद सचिवालयले जनाएको छ। निलम्बन भएको सूचनाको पत्र टाँस गरी निलम्बनको जानकारी दिन लागिएको हो।
प्रहरीले फरार रहेको पत्र पठाएपछि सभामुख घिमिरेले कोइरीलाई निलम्बन गरेका हुन्। प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम अदालतको आदेश विपरीत फरार रहेका सांसद स्वतः निलम्बनमा पर्ने व्यवस्था छ।
प्रहरीले दुई दिनअघि कोइरी अदालतको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा फरार रहेको पत्र संसद् सचिवालयमा पठाएको थियो। सात वर्षअघि महोत्तरीमा नेपाल प्रहरीका सई थमन विश्वकर्मा हत्या आरोपमा जनकपुर उच्च अदालतले कोइरीलाई पक्राउ गर्न आदेश दिएको थियो।
मधेश आन्दोलनका बेला ०७२ भदौ २५ मा प्रदर्शनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। उक्त घटनामा संलग्न अभियोग लागेका कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा चलेको थियो।
जिल्ला अदालतको ०७६ असोज २ को आदेशपछि पनि कोइरी धरौटीमा छुटेका थिए। जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो। उक्त आदेशपछि कोइरी फरार छन्। फरार रहेकै अवस्थामा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

