मिटरब्याज पीडितका समस्या समाधान गर्न राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश बुधबार जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने निर्णय गरेको थियो। सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको सरकारकी प्रवक्ता रेखा शर्माले बताएकी छन्। यो अध्यादेश जारी भएसँगै मिटरब्याजीलाई कारबाही गर्ने बाटो खुल्ने छ।

मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही हुनुपर्ने र आफूहरूलाई न्याय मिल्नुपर्ने भन्दै आन्दोलन गरेपछि सरकारले कारबाहीको बाटो खोल्ने सहमति गरेको थियो। मिटरब्याज पीडितसँगको सहमति अनुसार सरकारले संसद् अधिवेशन अन्त्य भएको समयमा अध्यादेश ल्याएर मिटरब्याजीलाई कारबाही गर्ने गरी मुलुकी संहिता संशोधन गर्ने तयारी गरेको हो।

सरकारले मिटरब्याज अनुचित लेनदेन भन्दै मिटरब्याजीलाई कारबाही गर्ने गरी अध्यादेश ल्याएको हो। मंगलबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर