काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज काठमाडौं ल्याइँदैछ ।
प्रहरीका अनुसार सन्दीपलाई काठमाडौं ल्याउन भैरहवा विमानस्थल पु¥याइएको छ । तर मौसम प्रतिकूल भएका कारण उडान हुन सकेको छैन ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका सन्दीप हिजो साँझ बुटवलबाट पक्राउ परेका थिए । नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि एमाले सचिव समेत रहेका रायमाझी र उनका छोराविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । छोरा पक्राउ परेपनि सांसद रायमाझीलाई भने प्रहरीले अहिलेसम्म समातेको छैन, उहाँ गृहजिल्ला अर्घाखाँची मै हुनुहुन्छ ।
बुटवलबाट पक्राउ परेका सन्दीपलाई हिजो भैरहवा हिरासतमा राखिएको थियो । आज काठमाडौं पठाउन लागिएको रूपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । सन्दीपलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौंमा पेस गर्न लागिएको हो ।

