काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीलाई कारबाही गर्नेकुरामा सरकार दृढताकासाथ अघि बढ्ने प्रतिवद्धता जनाएका छन्। भ्रष्टाचारविरुद्धको अभियान सरकार प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने उनले बताए।
शनिबार सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पारे। एमाले ओलीले अस्ति र आजको भेटमा पार्टीका नेता टोपबहादुर रायमाझीको विषयमा चासो राखेको उनले बताए। प्रधानमन्त्री प्रचण्डले आफू दबाबमा नपरीकन काम गर्ने बताए।
उनले भने, ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो। प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा त भएन। तर हामी कसैको दबाबमा पर्दैनौँ। कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन। हामी दृढताका साथ अघि बढ्छौँ। निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी हालसम्म फरार रहेका छन्।

