काठमाडौं। नेपाली काँग्रेसका नेता सुरेन्द्रराज आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आचार्यलाई आइतबार मन्त्री नियुक्त गरेका थिए। नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु-२ बाट विजयी भएका थिए। शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्डलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।
यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी मन्त्री महिन्द्र राय यादवले सम्हाल्दै आएका थिए। अहिले यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघि बिहीबार काँग्रेसबाटै धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बु मन्त्री नियुक्त भएका थिए।

