काठमाडौं। नेपाली काँग्रेस गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने नियुक्त भएका छन्। मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आइतबार प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा १ बमोजिम न्यौपानेलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।
न्यौपाने गोरखा १ को ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनी पार्टी गोरखा जिल्ला सभापतिसमेत हुन्। प्रदेशसभामा सचेतक र अन्य पदाधिकारीको भने टुंगो लागेको छैन। त्यस्तै मुख्यमन्त्री पाण्डेले आजभोलिमा मन्त्रिमण्डल विस्तारको तयारीमा छन्।
प्रदेश सभामा सहभागी अन्य दलले भने प्रमुख सचेतक चयन गरिसकेका छन्। नेकपा एमालेका रोशनबहादुर गाहा थापा, माओवादी केन्द्रकी सुशीला सिम्खडा र राप्रपाको विन्दु अधिकारी पहाडी दलको प्रमुख सचेतक हुन्। दलको उपनेता र सचेतक भने कुनै पनि दलले टुंग्याएका छैनन्।

