काठमाडौं। सिन्धुलीमा पेट्रोलको बोतलमा आगो सल्कदा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमलामाई नगरपालिका २ भोटेश्वराका शुभलाल घलानकी १३ वर्षीया छोरी अमृता घलान रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता चिरन्जिवी दाहालका अनुसार घलानको घरको भान्साकोठामा आगो बाल्ने क्रममा बोतलमा रहेको पेट्रोलमा अचानक आगो लाग्दा अमृता घाइते भएकी थिइन्।
हिजो साँझ करिब ५ बजेतिर आगलागीबाट गम्भीर घाइते भएकी अमृताको उद्धार गरी सिन्धुली अस्पतालमा उपचारका लागि ल्याइएको थियो। तर,त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं स्थित कीर्तिपुर अस्पताल पठाइएकोमा उनकोउपचारकै क्रममा आज बिहान मृत्यु भएको हो।

