प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं। प्रमुख तीन दलका नेताको बैठकले नक्कली शरणार्थी प्रकरणमा प्रहरीलाई कुनै किसिमको हस्तक्षेप नगर्ने सहमति गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको ठूला तीन दलका शीर्ष नेताहरूको बैठकमा यस्तो समझदारी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जानकारी दिए।

उनले नक्कली भुटानी शरणार्थी सम्बन्धमा दोषी कोही नछुट्ने र निर्दोष कोही पनि पर्न नहुने बताए। प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा आशंका गर्नुपर्ने कुनै कारण नभएको पनि बताए। ‘आशंका गर्नुपर्ने केही कारण छैन। हामीले विल्कुल क्लियर भाषामा भनेका छौं। दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्। प्रहरीले आफ्नो काम ठिक ढंगले गरोस् भनेर स्ट्याण्डिङ अर्डर दिएकै छौं। प्रहरीले आफ्नो काम गरेको छ, त्यसकारण यसमा दुबिधा, आशंका गर्नुपर्ने केही कारण छैन,’ उनले भने।

शीर्ष नेताहरूले यस प्रकरणमा निष्पक्ष छानबिनमा पूर्णरूपमा सहयोग गर्ने निष्कर्ष निकालेका छन्। यस विषयमा प्रहरीलाई डिस्टर्ब गर्नु हुँदैन भन्ने सबैको सहमति रहेको पनि उनले बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘विधि विधानअनुसार, नियम पद्धतिअनुसार प्रहरीले आफ्नो काम गरेको छ। हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौं। यसमा द्विविधा हुनुपर्ने कारण छैन। यो विषयमा प्रहरीले जसरी अनुसन्धान बढाएको छ, यसमा प्रहरीलाई कुनै डिस्टर्ब गर्नुहुँदैन भन्नेमा हामी सबैको सहमति छ।’

उनले आजको छलफल सदनलाई सुचारु गर्ने सन्दर्भमा केन्द्रित भएको पनि बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘मिडियामा जसरी तपाईंले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन। हाम्रो भेट सदनलाई कसरी सुचारु रुपमा लैजाने, संसदीय समिति बनाउने, संयुक्त समिति बनाउने विषयमा नै बढी छलफल भएको छ।’

उक्त प्रकरणमा बुधबार मात्रै काँग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन् भने एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन्। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर