काठमाडौं। दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुख व्यक्त गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’
उपचारका क्रममा बुधबार राति ८ बजे उनको निधन भएको हो। मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए। १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो। २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो। गोली लाग्दा मुकेश १४ वर्षका थिए।

