भ्रष्टाचारमा दोषी जोसुकैलाई कारबाही हुनुपर्छ : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध सधैं लडाइँ गरेको दाबी गरेका छन्। पार्टी कार्यालय च्यासलमा बिहीबार केन्द्रीय कमिटी बैठकमा उनले लगातार भ्रष्टाचारका विपक्षमा एमालेले लड्दै आएको बताएका हुन्।

अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोसुकैको नाम आए पनि दोषी भए कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले एमालेकै नेताहरूको संलग्नता पुष्टि भए कारबाही हुनुपर्ने बताए। तर, अनुसन्धानलाई अर्कोतिर लैजाने र अनावश्यक रूपमा पूर्वाग्रहपूर्ण ढंगले निर्दोषलाई फसाउने, आरोप लगाउने काम भने हुन नहुने उनले बताए।

‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न व्यक्तिहरूको नाम आइरहेको छ, हाम्रै साथीहरूको नाम पनि परेको छ, यसमा हामी प्रष्ट हुनु जरुरी छ कि भ्रष्टाचार गर्ने कार्यमा जो सुकैको नाम आओस्, यदि दोषी छ भने उसलाई कारबाही हुनुपर्छ,’ उनले भने। उनले दोषी प्रमाणित नहुँदासम्म अपराधी भन्न नमिल्ने बताए। एमालेलाई लक्षित गरेर केही नकारात्मक टिप्पणी भइरहेको उनले उल्लेख गरे।

‘एउटा कुरा के छ भने, जबसम्म दोषी प्रमाणित हुँदैन, तबसम्म अपराधी भन्ने हो कि भन्ने शंका त हुन्छ। तर, अपराधी भन्न मिल्दैन,’ ओलीले भने, ‘पूर्वाग्रही रूपमा दिइने अभिव्यक्ति र अखबारका हल्लाको पछि लाग्न आवश्यक छैन। तर, एमालेका विरुद्ध लगातार वर्षौंदेखि प्रयास भइरहेका छन्।’

उनले राज्यको ढुकुटी छलछाम गरेर खल्तीमा हाल्ने काममा जोकोही भए पनि त्यसको प्रतिरोध गर्नुपर्ने बताए। उनले भ्रष्टाचारीको विरुद्धमा कसैले बोल्यो भने उसको मुख थुन्ने प्रयास भइरहेकोसमेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर