काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीले नक्कली शरणार्थी प्रकरणमा संलग्नहरुबीचको लेनदेनका क्रममा गृहमन्त्रालयभित्रै विवाद भएको दावी गरेका छन् ।
पक्राउ परेपछि प्रहरीसँगको बयानका क्रममा उनले आफू काम विशेषले गृहमन्त्रालयमा जाँदा लेनदेनको विवाद प्रत्यक्ष रुपमा सुनेको दावी गरे ।
‘काम विशेषले गृहमन्त्रालय गएको बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजीत राईको कार्यकक्षमा छलफल हुँदा ठुलो स्वरमा आवाज आएको हुँदा म पनि कार्यकक्षमा छिरे’, १६ पुस २०७७ को घटना भन्दै उनले बयानमा खुलाएका छन्, ‘त्यहाँ जाँदा ईन्द्रजीत राई, सानु भण्डारी र केशव प्रसाद दुलालबीच लेनदेन सम्बन्धी विवाद भएको सुनेको हुँ ।’
कार्यकक्षबाट बाहिर निस्केपछि आफूले सानु भण्डारी र केशवप्रसाद दुलाललाई डुप्लिकेट (नक्कली) काम त गरेका छैनौं भनेर सोधेको उनको दावी छ । त्यसक्रममा उनीहरुले भुटानी शरणार्थीको मामिलामा काम गरेको स्वीकारेका छन् ।
उनीहरुको भनाइ उदृत गर्दै रायमाझीले बयानमा भनेका छन्, ‘हामी पूर्वका मानिस हौँ, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौ होला भनी प्रतिप्रश्न गरेका थिए ।’
उनले भुटानी शरणार्थीको विषयमा कार्यदल बन्नुअघि नै आफूलाई जानकारी भएको स्वीकारेका छन् । सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा ‘टोपबहादुर मामा’ भनी रायमाझीको नाममा पैसा भुक्तानी भएको विवरण भेटिएको थियो । डायरीमा उल्लेख भए पनि आफूले कसैसँग रकम नलिएको दावी रायमाझीले गरेका छन् ।
उनले केवल पौने घण्टामा घुमेर आउन सकिन्छ भनेकाले आफू केशव दुलाल र सानु भण्डारीसँग हेलिकप्टरमा गोसाईँकुण्ड घुम्न गएको उल्लेख गर्दै बयानमा भनेका छन्, ‘म उनीहरुको कुरामा सहमत भई गोसाईँकुण्ड गई फोटो खिचाइ फर्किएका हौँ । म सो ठाउँमा घुम्न जादाको अवस्थामा मैले सामान्य रुपमा लिएको थिए ।’
उनले आफ्नो छोरा पक्राउ परेको, पक्राउपछि हत्कडी लगाएको खबर सुनेकाले मन बिग्रिएको भन्दै त्यसपछि सम्पर्कविहीन भएको बयान दिएका छन् ।

