काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले मानव स्वास्थ सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न प्रतिवद्ध रहेको बताएका छन्।
आइतबार काठमाडौंमा भएको महिला पाराभेटेनरीयनहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले यस्तो बताएका हुन्। उनले अहिलेसम्म सरकारले मानव स्वास्थ्य सेवा क्षेत्रमा मात्रै महत्व दिएको भन्दै अब सरकारले पशु स्वास्थ्य सेवाको क्षेत्रमा पनि महत्व दिने बताए।
उनले भने, ‘हामीले मानव स्वास्थ्यको बारेमा धेरै ख्याल गर्छौं। धेरै अस्पतालहरु समेत खोलेका छौं। तर पशुस्वास्थ्यलाई सरकारले नै उपेक्षा गरेका छौं भन्ने लाग्छ। पशु स्वास्थ्य मानवसँग अभिन्न रुपले जोडिएको छ भन्ने कुरा बिर्सेर यसो गरिरहेका छौं। हामीले त्यो बुझाउन आवश्यक छ। पशु स्वास्थ्यलाई सरकारले जति महत्व दिएरहेका छैनौं। अब सरकारले पनि महत्व दिनुपर्छ।’
उनले पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा रहेको भन्दै पशु स्वास्थ्य मानवसँग अभिन्न रुपले जोडिएको विषय बुझ्न नसकिएको बताए। मन्त्री भुसालले सरकारले अहिलेसम्म पशु स्वास्थ्यको क्षेत्रमा महत्व नदिएको स्वीकार गरे।

