एजेन्सी। इटालीको उत्तरी भागमा अवस्थित म्यागियोर तालमा पर्यटक सवार डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बीस जनाको सकुशल उद्धार गरिएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीलाई उद्धृत गर्दै केबल न्युज नेटवर्क (सीएनएन)ले जनाएको छ।
दुर्घटना आइतबार साँझ भएको हो। सोमबार अपराह्न अन्तिम शव निकालिएसँगै खोज तथा उद्धारका काम सकिएको अग्नि नियन्त्रण कार्यालयले बताएको छ। दुर्घटनाग्रस्त डुङ्गामा २४ जना पर्यटक थिए। आँधीबेहरीका कारण डुङ्गा पल्टिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
हेलिकप्टर प्रयोग र गोतटाखोर परिचालन गरेर उद्धारका काम सम्पन्न गरिएको थियो। डुबेको डुङ्गा निकाल्ने प्रयास भइरहेको छ। चित्ताकर्षक म्यागियोर ताल इटाली र स्विजरल्याण्डको साझा पर्यटकीय गन्तव्य हो।