प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै, यस्तो छ तालिका

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि आज भारतको नयाँदिल्ली जाँदैछन्। प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नेछ।

भ्रमण टोलीमा आधा दर्जन मन्त्रीहरु, सचिवहरु, ब्यापारीहरुलगायत पाँच दर्जन बढी रहने बुझिएको छ। परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायत मन्त्रीहरु भ्रमण दलमा रहने छन्।

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार दिउँसो भेटवार्ता हुने कार्यक्रम रहेको छ। दुई प्रधानमन्त्रीबीच उर्जा, ब्यापार, कृषि, सिमा वारपार आतंकवाद, साँस्कृतिक आदान प्रदानलगायतका विषयमा छलफल हुने छ।

बिहीबार हुने वार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम पनि रहेको छ। प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडेसँग पनि शिष्टाचार भेट गर्नेछन्।

प्रधानमन्त्री दाहाल आगामी शुक्रबार मध्य प्रदेशको उज्जैन जाने र त्यहाँस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि छ। उनी जेठ २० गते स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर