काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको जानकारी दिए। नागरिकतासम्बन्धी विधेयकलाई अघिल्लो संघीय संसद्ले पारित गरेको थियो। संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो।
विधेयकमा चित्त नबुझेको भन्दै उनले ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन्। दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो। १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याइदिएकी थिइन्।
त्यसपछि पौडेल राष्ट्रपति निर्वाचित भएर आएपछि विधेयकबारे चासो राख्दै छलफल चलाएको थियो। हैसियत के हुने भन्ने बारेमा फरक फरक मत सार्वजनिक भइरहेको बेलामा मन्त्रिपरिषद्ले केही दिनअघि विधेयक प्रमाणीकरणका लागि आग्रह गरेको थियो।

