काठमाडौं। सरकारले बढाएको भन्सार महसुल र सुनको अन्तर्राष्ट्रिय बजार मूल्यामा भएको वृद्धिले सुन र चाँदीको मूल्यमा एकै दिने वृद्धि भएको छ। तोलामै १ हजार ५ सय रुपैयाँले सुनको मूल्य बढ्दा बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चारसय पचास रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि गत वैशाख २१ गते उच्च मूल्य बनाएको सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौसय ५० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबारको तुलनामा आज सुनको मूल्यमा एकहजार पाँच सय रुपैयाँले वृद्धि भएको हो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो।

