काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुेगेका छन् ।
आज दिउँसो साढे एक बजे नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ प्रस्थान गर्नु भएका प्रधानमन्त्री प्रचण्ड २ बजेर ५० मिनेट जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे,राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका साथै मन्त्रीहरूले बिदाई गरेका थिए।
चार दिने भ्रमणमा जानु भएका प्रधानमन्त्री प्रचण्डले भोली भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्नेछन् । भारत भ्रमणका क्रममा उनले विद्युत बिस्तार, विद्युतमा भारतीय लगानी प्रवद्र्धन, भारतसँग भएका सम्झौताहरुको कार्यान्वयन, सीमा विवाद, नाकाहरु सञ्चालन लगायतका बारेमा छलफल गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला,ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत,परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल सामेल छन्।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

