नयाँदिल्ली। नेपाल-भारतबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको दुई देशका प्रतिनिधमण्डलबीच बिहीबार नयाँ दिल्लीको हैदरावाद हाउसमा वार्ता भएको हो।
वार्तामा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची रहेको छ। अर्थतन्त्र, ऊर्जा, पूर्वाधार, शिक्षाका क्षेत्रमा विस्तारित कनेक्टिभिटी लगायतका एजेन्डाबारे छलफल हुने बुझिएको छ। ‘यसमा हाम्रो पुरानो सम्बन्धलाई बलियो बनाउने एजेन्डा पनि समावेश छ,’ भारतीय विदेश मन्त्रालयले जनाएको छ।
बैठकमा विभिन्न सम्झौताहरूमा हस्ताक्षर पनि हुनेछन्। यसअघि आज नै प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीसँग वार्ता गरेका थिए। त्यस्तै बिहान महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए। बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्नेछन्।

