काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताएका छन्।
शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताएका हुन्।
उनले अस्पताल सञ्चालको स्वीकृति लिँदा दश प्रतिशत विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने प्रावधान राखिएको भएपनि सो प्रावधान पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताए। उनले अनुगमनका क्रममा अस्पतालहरुसँग एक आर्थिक वर्षमा विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण पनि माग गरे।
मन्त्री बस्नेतले अस्पताल सञ्चालनको स्वीकृति लिँदाको सम्झौता अनुरुप १० प्रतिशत निःशुल्क उपचार गर्न निर्देशन पनि दिए। उनले निःशुल्क उपचार दिने र नदिने अस्पतालहरुलाई सरकारले सोही अनुरुप हेर्ने पनि स्पष्ट पारे। उनले अस्पतालमा शैय्या उपलब्ध छ, छैन भन्नेपनि अनलाइनमार्फत सार्वजनिक गर्न निर्देशन दिइएको भन्दै आगामी दिनमा बेड पाउनका लागि मन्त्री वा सांसदहरुले सिफारिस गर्नुपर्ने अवस्था तोड्ने बताए।

