काठमाडौँ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ ।
महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको बताइन् । “देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परिरहेको छ, तर पनि मनसुनको समय भइसकेकाले सङ्क्रमणकालीन समय (प्रिमनसुन सकिने र मनसुन भित्रिने बीचको समय) भएकाले अझै केही दिन वर्षा हुँदैन”, उनले भनिन् ।
उक्त मौसमी प्रणालीका कारण केही दिन गर्मी बढ्ने अनुमान गरिएको मौसमविद् मानन्धरले बताइन् । उनका अनुसार मनसुन नभित्रिएसम्म तापक्रम केही दिन बढ्ने देखिन्छ । “तराईका केही जिल्लामा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेर गर्मी बढ्ने देखिन्छ भने काठमाडौँ उपत्यकामा पनि क्रमिकरुपमा तापक्रम बढिरहेको छ”, उनले भनिन् ।
मनसुनी वायु सक्रिय नरहे पनि देशका पहाडी भेगमा भने अबको तीन दिन छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् । तराई क्षेत्रमा मौसम सफा रहने हुनाले गर्मी बढ्ने उनको भनाइ थियो । आज काठमाडौँको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ । पछिल्लो केही दिनयता काठमाडौँको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महसुस गरिएको छ ।

