काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक फिर्ता गरी संसद् बैठकको प्रक्रियाबाट अघि बढ्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा आज पार्टीको तर्फबाट धारणा राख्दै उनले सो कुरा बताएका हुन्।
प्रतिनिधिसभा बैठकमा आइतबार प्रमुख सचेतक गिरीले असंवैधानिक ढङ्गले राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण गरेकोले त्यसलाई फिर्ता गर्नुपर्ने माग गरे। संवैधानिक प्रक्रियाअनुसार नागरिकता विधेयक संसद्मा प्रस्तुत हुनुपर्ने र त्यसलाई एक हप्ताभित्रै पारित गर्न सक्नेगरी संसद् चलाउनुपर्ने उनले बताए।
प्रमुख सचेतक गिरीले भने, ‘प्रमाणिकरण गरिएको भनिएको नागरिकता विधेयक निष्क्रिय राखियोस्। नयाँ संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गरियोस् र एक हप्ताभित्र घनीभूत ढङ्गले छलफल गरेर नागरिकताबिहीनलाई नागरिकता दिने प्रबन्ध गरियोस।’
उनले नागरिकता विधेयकलाई संसदबाट एक हप्ता भित्र छलफल गरी पारित गरेर नागरिकताविहीन नेपालीलाई नागरिकता दिन आफ्नो पार्टी लागिपर्ने उनले बताए।
यसअघि २०५७ सालमा तत्कालीन राजा वीरेन्द्रले लालमोहर नलगाएको नागरिकता विधेयक राष्ट्रपतिज्यूले प्रमाणीकरण गरिदिनुभयो भने के होला ? उनले जिज्ञासा गरे। एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित गरिएको छ।

