विराटनगर। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टी प्रदेश कमिटीको पदाधिकारीको आज बिहान बसेको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
पार्टीको निर्णयलाई संसदीय दलले अनुमोदन गरेपछि माओवादी केन्द्र सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले जानकारी दिए।
उनका अनुसार मंगलबार नै सरकारबाट मन्त्रीहरू पनि फिर्ता बोलाउने निर्णय भएको छ। प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन्।
संसदीय दलको बैठकले गरेको निर्णय मंगलबार बस्ने प्रदेशसभा बैठकमा जानकारी गराइले उप्रेतीले बताए। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको छ।

