भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन्।राष्ट्रियसभाको आज बुधबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन तथा आर्थिक विकासलाई केन्द्रमा राख्न सफल भएको दाबी गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटवार्ता महत्वपूर्ण रहेको उल्लेख गर्दै भ्रमण विशेष गरी विद्युत् व्यापार, कृषि, सुक्खा बन्दरगाह, पारवहनलगायतका विषयमा केन्द्रित रहेको जानकारी दिए। उनले भ्रमणका क्रममा भारतसँग अतिरिक्त हवाई प्रवेश विन्दुको अनुमतिका विषयमा समेत महत्वपूर्ण र सकारात्मक छलफल अगाडि बढेको जानकारी बताए।

उनले जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा पनि उत्तिकै गम्भीर छलफल एवं सहमति भएको बताए। जलविद्युत्को बजार सुनिश्चित भएको र त्यसले मुलुकको ऊर्जा क्षेत्रमा थप लगानीका लागि मार्ग प्रशस्त भएको, पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तीन महिनाभित्र पूरा गर्ने र एक वर्षभित्र कार्यान्वयनको ढाँचा तय गर्ने सहमति भएको प्रधानमन्त्रीको भनाइ छ।

टनकपुरमा पानी उपलब्ध गराउने र सीमावर्ती क्षेत्रमा हुँदै आएको बाढी तथा डुबान नियन्त्रणका लागि दुवै देशका प्रधानमन्त्रीले निर्देशन दिएकोसमेत प्रधानमन्त्रीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर