काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विपक्षमा नरहेको स्पष्टीकरण दिएका छन्। बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा सभापति लामिछानेले यस्तो स्पष्टीकरण दिएका हुन्।
सांसद लामिछानेले आफ्नो पार्टी नागरिकता विधेयकको विपक्षमा नभएको स्पष्ट पार्दै विरोधमा रहेको भाष्य प्रमाणित गर्न लागि परेको भन्दै दुःख व्यक्त गरे। लामिछानेले भने, ‘नागरिकता विधेयकमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर नागरिकलाई गुमराहमा राख्न खोजिएको छ।’
सांसद लामिछानेले प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा संसद्मा जे नहुनुपर्ने थियो त्यो भएको स्वीकार्दै आफ्नो पार्टीको तर्फबाट भएको गलत बहसमा आफूले आत्मआलोचना गर्ने बताए।
‘संसद्मा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम होइन, यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष वादविवादमा लागेर लज्जित भएका छौँ । यो गलत कार्य हो । नहुनुपर्ने कार्य हो हाम्रो पार्टीबाट भएको गल्तीमा म आत्मआलोचना गर्न चाहन्छु’ लामिछानेले भने ।

