ढोरपाटन । काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ । बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् ।
छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरी राखेकी छिन् । अब गाउँमा मान्छेनै नहुने चिन्ता भण्डारीलाई छ । एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको सङ्ख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दो छ ।
उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँ छोरेर बसाइँ सरेका छन् । पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीय दुःख गरेर पनि गाउँमै बस्थे । अहिले गाउँ–गाउँमा टोल–टोलमा विकास पुगेको छ मान्छे छैनन् । गाउँमा ढुङ्गा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् ।
दशक अगाडिसम्म निकै रमाइलो थियो धम्जा गाउँ तर अहिले बसाइँसराइका कारण चहलपहल हराउन थालेको छ । विसं २०६६ मा सडकले जोडिएको धम्जा गाउँमा अहिले विकासले गति लिदै गएको छ तर उपभोग गर्ने स्थानीय थप सेवा सुविधा खोज्दै गाउँ छोड्दै छन् ।
पहिले गाउँमा एकै परिवारले सयौँ वस्तुभाउ पाल्ने खेती किसानी गर्ने गर्थे । सामान्य सेवा लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटे पनि गाउँमा मान्छे बस्न छोड्दै छन् । स्थानीय महत्वकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको चन्द्रकुमारी बताउछिन्। उनले आफ्नो पालामा अहिलेको जस्तो यातायात, खानेपानी, विद्युत् र स्वास्थ्यको सहज पहुँच नभए पनि गाउँमा मान्छेको चाप बढी भएको भन्दै अहिले सुविधा भएर पनि बसाइँसराइ गरिरहेको बताइन् ।
“उतिबेला अहिलेको जस्तो मोटर गाडी आउँदैनथे, बाटोनै बनेको थिएन, हामीहरु एक साता लगाएर थाकखोला पुगेर ढिके नुन बोकेर आँथ्यौँ, स्याङ्जा पुगेर चामल लिएर खान्थ्यौँ, चप्पल लगाउने चलन थिएन, खाली खुट्टा हिँड्थ्यौँ, अहिलेको जस्तो फेसन–फेसनका लुगा थिएनन् भोटो लगाउँथ्यौँ”, उनले भने, “बिजुली पनि थिएन, दियालो, टुकी बालेर रात बिताउनुपथ्र्यो, अहिले यस्तो विकास होला भन्ने त सोचेका थिएनौँ, गाउँ पनि धेरै फेरिएको छ, गाउँमा विकास आएर के गर्ने, मान्छे सबै सहर बजारतिर झर्न थाले ।” रासस

