काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगका सेवा र कार्यलाई थप प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन्।
लोकसेवा आयोगको ७३औँ वार्षिक समारोहमा उनले निजामती सेवाका पदको नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने र सो पदबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्ने आयोगको जिम्मेवारी सन्तोषजनक रहेकाले सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरेका हुन्।
उनले जनतालाई सहज र सुलभरुपमा सेवा दिने निजामतीलगायत क्षेत्रका कर्मचारीको भर्ना र छनोट कार्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रहेको र यसलाई निरन्तरता दिन पनि आग्रह गरेका छन्। आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी भर्ना र छनोटको कार्यलाई थप वस्तुनिष्ठ, समसामयिक र विश्वसनीय बनाउन तथा आयोगको संस्थागत क्षमता सुदृढीकरण गर्न आयोगले दोस्रो रणनीति योजना (२०७९/८०-२०८३/८४) तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए।
उनले पाठ्यक्रम, परीक्षा पद्धतिमा सुधारका साथै उत्तरपुस्तिका प्रणालीलाई थप विश्वसनीय बनाउन कार्यदलको सुझावका आधारमा प्रणालीगत विकास गरिएको बताए। आयोगले अनलाइन प्रणालीको टेक्नोलोजी तथा आर्किटेक्चर अपग्रेड गरी विकास गरिएको नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएकाले तथ्यांक व्यवस्थापन कार्य आगामी दिन थप व्यवस्थित हुने पनि उनले स्पष्ट गरे। नेपालमा विसं २००८ भदौ १८ मा पहिलो पटक छ पदका लागि विज्ञापन गरेर आयोगले कार्यारम्भ गरेको थियो।

