प्रधानमन्त्री प्रचण्ड पुगे मेलम्चीमा

मेलम्ची। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन्।

प्रधानमन्त्री प्रचण्डलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए। गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री प्रचण्डले स्थलगत अवलोकन गर्दै आएका छन्। उनका साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव रहेका छन्।

आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले स्थानीय पदाधिकारीसँग पनि अन्तरक्र्रिया गर्ने कार्यक्रम छ। विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो। वर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो।

काठमाडौं उपत्यकामा विद्यमान खानेपानी अभावको दीगो एवं दीर्घकालीन रुपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्यस्थिति तथा जीवनस्तर सुधारमा योगदान पुर्‍याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो। सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ। सुरुङको माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरिएको छ।

विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं उपत्यकामा वितरण थालिएको थियो। विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो। मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर