काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा वामपन्थीहरूलाई एकताबद्ध बनाउने गरी अघि बढ्नुपर्ने बताएका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा सोमबार आयोजित समाजवादी मोर्चा घोषणा सभामा उनले अब मोर्चाले देशमा रहेका सबै क्रान्तिकारी शक्तिहरूलाई एक ठाउँमा ल्याउन पहल गर्नुपर्ने बताए।
‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्, सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने मोर्चा बनोस्, यो त्यसैका लागि चालिएको पहिलो पाइला हो,’ उनले भने, ‘समस्त वामपन्थीहरूलाई एकताबद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन सक्दैन। सिंगो देशका समस्त वामपन्थी, समाजवादी र क्रान्तिकारीलाई एकताबद्ध गर्नुपर्छ। मोर्चालाई अझै व्यापक बनाउनुपर्नेछ र विस्तार गर्नुपर्नेछ।’

