काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। आफूमाथि भएको सांघातिक हमलाका अभियुक्तहरू विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउने सर्वोच्च पुगेका हुन्।
समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले सांघातिक आक्रमण गरेका थिए। त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो। आचार्यसहित ५ जनाविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको थियो।
मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। चलाउनेले आफ्नो रिट निवेदनमा सरकारको निर्णय गैरकानुनी र असंवैधानिक भएको दाबी गरेका छन्। उनले मुद्दा फिर्ता लिने सरकारको निर्णय खारेज गर्न माग गरेका छन्। रिट दर्ता भएसँगै त्यसको पेशी भोलि बिहीबारका लागि तोकिएको छ।
सरकारको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ। चलाउनेले त्रिवि भिसी कार्यालय अगाडि आमरण अनसन पनि सुरु गरेका थिए। सरकारले मुद्दा फिर्ता लिएपछि चलाउने यसअघि न्याय माग गर्दै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका थिए। मंगलबार त्यहाँ पुग्दा उनलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो।

