गण्डकी। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हालै भएको नेपाली संसदीय प्रतिनिधिमण्डलको चीन भ्रमण फलदायी भएको जानकारी दिएका छन्। चीनको छेन्दु- तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएका उनले पत्रकार सम्मेलनमा भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाएको बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण हुनु पोखरेली र समग्र नेपालीका लागि खुसी र गर्वको विषय भएको जनाउँदै उनले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान नियमित गराउनेतर्फ सबै लाग्नुपर्ने आवश्यकता औँल्याए। चीनको स्वशासित क्षेत्र तिब्बतमा पाँचौं पर्यटन सांस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रुपमा आमन्त्रण भई आफूहरू त्यसतर्फ गएको जानकारी दिँदै उनले उक्त क्रममा चीनको उच्च राजनीतिक व्यक्तित्वसँग भेटघाट भएको बताए।

