काठमाडौं। पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा रास्वपाका सभापति रवि लामिछानेले उनलाई स्वागत गरेका हुन्।
शाहलाई पार्टीमा जिम्मेवारी पनि दिइएको छ। उनले रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सम्हाल्ने भएका छन्। रास्वपा नेता एवं प्रतिनिधिसभा सदस्य शिशिर खनालले शाहलाई पार्टीमा स्वागत गरिएको जानकारी दिए।
खनालका अनुसार शाहले अब रास्वपामा तालिम विभागको नेतृत्व गर्ने छन्। उनी पछिल्लो पटक नविल बैंकको सीईओको भूमिकामा थिए। त्यहाँबाट बिदा भएपछि उनी मोटिभेस्नल स्पिकरका रुपमा सक्रिय थिए। उनले नेतृत्व विकाससम्बन्धी तालिम पनि दिने गरेका छन्।
त्यस्तै रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ। अहिले केन्द्रीय समिति र संसदीय बैठक जारी रहेको छ। त्यसपछि पत्रकार सम्मेलन हुने र दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापन कार्यक्रम रहेको छ।

